काठमाडौं । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर भ्रम फौलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गरेको हो ।
गृह मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबिचको अन्तरजातीय बाल विवाह विवाहको विषयमा सिर्जित घटनाबारे गृहमन्त्री लेखकलाई सामान्य जानकारी समेत नभएको भन्दै मन्त्रालयले कानुन कार्यान्वयनमा देखिएका अवरोध हटाउन तल्लिन गृहमन्त्री लेखकले समाजमा छुवाछूत र जातीय विभेद् बढाउने जस्ता अपराधिक गतिविधिमा शुन्य सहनशीलताको नीति लिएको उल्लेख गरेको छ ।
संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ । साथै गृहमन्त्री लेखकले सो घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र आवश्यक छानविन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन समेत दिएको विज्ञप्तीमा उल्लेख छ ।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००