पूर्वगृहसचिव एवम् भानु साहित्य उद्यानका अध्यक्ष विजयराज भट्टराईको निधन

न्यूज समय

काठमाडौं । पूर्वगृहसचिव एवम् आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घाको विकासका निम्ति स्थापित भानु साहित्य उद्यानका अध्यक्ष विजयराज भट्टराईको निधन भएको छ । यही माघ २१ गते सोमबार उनको निधन भएको साहित्य उद्यानका कोषाध्यक्ष एवं कवि मुकुन्द पौडेलले जानकारी दिए ।

कवि पौडेलले भट्टराईको सुझबुझ र अनुभवयुक्त नेतृत्वमा साहित्य उद्यानमा काम गर्न पाउनु आफ्ना निम्ति अहोभाग्य भएको आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।.कवि पौडेलका अनुसार, भट्टराईको जन्म २००५ सालमा तनहुँको भानु नगरपालिकास्थित सिंपानीमा भएको थियो ।

कवि पौडेलले फेसबुकमा लेखेका छन्–‘नेपाल सरकारका पूर्व सचिव एवं भानु साहित्य उद्यानका अध्यक्ष आदरणीय दाजु श्री विजयराज भट्टराईज्यूको निधनको खबरले ज्यादै नै मर्माहत बनायो। उहाँको दुस्खद् र अकल्पनीय निधनबाट ब्यक्तिगत रुपमा म उतिनै दुखी छु भने हाम्रो सिङ्गो भानु साहित्य उद्यान परिवारलाई गहिरो चोट पुगेको छ।दाजुसंग रहेर उहाँकै नेतृत्वमा उक्त संस्थालाई यौटा सार्थक उपलब्धिमा पु(याउने हाम्रो उत्कट चाहनामा ठूलो धक्का लागेको महशुस गरेको छु मैले यतिखेर। उहाँ एक कुशल प्रशासक हुनुका साथै सामाजिक भावनाले ओतप्रोत समाजसेवी,योग्य र सक्षम व्यक्तित्व हुनुहुन्थ्यो। महत्वपूर्ण जिम्मेवारीहरुमा रहँदा नै उहाँको ईमान्दारिता र कार्यकुशलता प्रशंसनिय रहेको कुरा धेरै सुनेको थिएँ। बिधिको बिधान यस्तै रह्यो टारेर टरेन। यस घडीमा म उहाँको आत्मालाई चिरशान्ति मिलोस् भनी कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’