सिमसार क्षेत्रको संरक्षण र प्रवर्धन सरकारले गर्छ : वनमन्त्री ठकुरी

न्यूज समय

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसाबले महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । उनले नेपालका सयौँ तालतलैयाहरू सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए। विश्व सिमसार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए। उनले सिमसार क्षेत्रको संरक्षण समयमै ध्यान पुर्‍याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताए।

मन्त्री ठकुरीले भने, ‘सिमसारको रूपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ। नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरु छन्। म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ। सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन हामी गर्नसक्छौँ। सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ। यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवर्धन गर्दै जानुपर्छ।’

सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आइतबार विश्व सिमसार दिवस मनाएको छ।