१५औं महाधिवेशनपछि अहिलेका धेरै नेताहरुलाई विदाई गरेर कांग्रेस तन्नेरी बन्ने दिशामा छ : महामन्त्री शर्मा

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनले कांग्रेसमा रहेको अहिलेका धेरै नेताहरुलाई बिदाई गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आयोजित १०० दिने अभियानको समापन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस रुपान्तरणको दिशामा अघि बढेको बताए ।

उनले १५औं महाधिवेशनपछि अहिलेका धेरै नेताहरुलाई विदाई गरेर कांग्रेस तन्नेरी बन्ने दिशामा लागेको बताए । उनले भने–‘बदलिएको कांग्रेस बन्नेछ । को सभापति र को महामन्त्री बन्छ भन्ने कुरा छलफलको विषय होइन । कुन पुस्ताको आउनुहुन्छ, त्यो छलफलको विषय होइन ।’

महामन्त्री शर्माले कांग्रेसमा कसैलाई बोल्न निषेध नगरिएको बताए । उनले भने–‘कांग्रेसभित्र सानातिना समस्या हुनु न विगतमा अनौठो मान्न मिल्थ्यो न आज । विवाद नै हुनुहुन्न भन्ने कुरा व्यवहारिक हुन्न । राजनीतिक दलमा फरकफरक विचार आउँछन् । छलफल हुन्छ र त्यसको बीचबाट अगाडि बढ्छौं ।’ उनले कांग्रेसमा आउने फरक विचारलाई सकारात्मक रुपमा लिनुपर्नै भन्दै कतिपय दलमा प्रश्न गर्न निषेध गरिएका बताए ।