माघ २२ र २३ गते कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र उपसभापतिका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते पोखरामा सो प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति कार्यक्रममा सहभागी हुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालगायत नेताको उपस्थिति रहनेछ ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की कांग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको भनाइ छ । सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरू गठन गरी काम अघि बढिरहेको छ ।