सर्वप्रथम, नेपालमा नागरिकको स्वतन्त्रता, समानता र न्याय सहितको लोकतान्त्रिक अधिकार प्राप्तिको हरेक आन्दोलनको अग्रमोर्चामा बीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूको साहस, संकल्प र आदर्शलाई स्मरण गर्दै उच्च सम्मानका साथ शहीद दिवसका अवसरमा उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले कार्यक्रम आयोजना गरेकोमा विभागीय प्रमुख तथा विभागका सबै साथीहरुलाई बधाई तथा धन्यवाद दिन चाहन्छु ।
यस विभागले अत्यन्त अनुकरणीय र सह्रानीय कामको सुरुवात गरेको छ । खासगरी केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा यो कार्यक्रममा छलफल हुने विश्वास मैले लिएको छु ।
गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता हो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउँछ ।
पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।
यो सँगै बहु सम्भावनाका क्षेत्र कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्छ ।
आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो नीजि क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ ।
यही अवस्थालाई मध्यनजर गरि नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएका हौं ।
नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या वुझि पार्टीलाई सुझाव दिन “उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग” गठन गरेका हौं । उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु ।
मुलुकको समुन्नतीका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि हो । यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्दछ । दुई दिनसम्म हुने यो कार्यक्रमले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुनेछ भन्ने मेरो विश्वास छ ।
यहाँ हुने विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ । नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने मेरो विश्वास छ ।
यस सम्मेलनमार्फत पार्टीको दृष्टीकोणसँग युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा अवश्य पनि नेपाली कांग्रेस पार्टी थप बलियो हुनेछ ।
यस सम्मेलनको छलफलबाट आएका निश्कर्षहरुबाट एउटा कार्ययोजनाको खाका तय गर्न हाम्रो पार्टीलाई मात्र नभै सरकारलाई पनि मार्गदर्शन गर्ने अपेक्षा मैले लिएको छु । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरुको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनी मार्फत स्थानीय उत्पादनहरुको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धी गर्ने लगायत जुन लक्ष्य राखिएको छ, सबैको प्रयासबाट अपेक्षित परिणाम हात लाग्ने नै छ ।
अन्त्यमा यस सम्मेलनबाट नेपालको उद्यमशीलताको विकासमा थप सहयोग पुग्नेछ भन्दै पुनः कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।
( उद्यमशिलता सम्मेलनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यक्त गर्नुभएको विचार)
न्यूज समय
१६ माघ, २०८१, बुधबार ००:००