सभापति कप फुटबल प्रतियोगिताको फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै

न्यूज समय

काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ ।

सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश -बागमती_ र न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ । आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् ।

एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।

यसैबिच, सभापति कप फुटबलको ट्रफी बुधवार दशरथ रङ्गशालामा सार्वजनिक गरिने छ । ट्रफी सार्वजनिक गर्नु अघि काठमाडौँमा युवाहरूको मोटरसाइकल र्‍याली आयोजना गरिएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।