काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउन लागेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको स्पष्ट पारे ।
महामन्त्री थापाले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए। अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानूनहरु बनाएपनि मूल कानून बनाउन नसकिएकाले अब बन्ने कानून कृषिको मुल कानून हुने बताए। कृषिको मूल कानून बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताए। रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्वपूर्ण रुपमा हेरिनुपर्ने बताए।
उनले भने–‘एउटा मौका अहिले आएको छ। अहिले कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ। कृषि विधेयक हाम्रो लागि एउटा महत्वपूर्ण दस्तबेज बन्नसक्छ । खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ । कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मूल आधार बन्छ की बन्दैन भन्नेकुरा यो कानूनले टुंग्याउँछ।’
महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्वपूर्ण बन्न नसकेको बताए।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००