काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा ९२ प्रतिशतले घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ करोड १७ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ९० करोड रुपैयाँ थियो । यो गत वर्षको यसैअवधिको भन्दा ९२.०३ प्रतिशतले थोरै हो । कम्पनीको नाफामा उच्च गिरावट आउनुको प्रमुख कारण संभावित कर्जा नोक्सानीवापतको व्यवस्थापन रकम (लोन लस प्रोभिजन) उच्च दरले बढ्नु हो । यस्तो रकम पहिले ४८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३५ करोड छ ।
बैंकको खुद ब्याज आम्दानी जम्मा ६ प्रतिशत घटेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा अहिले ५ अर्ब १८ करोड रुपैयाँ छ ।
नाफामा आएको भारी गिरावटले वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ३ पैसामा झरेको छ । यस्तो आम्दानी पहिले २५ रुपैयाँ ५९ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ पनि खुम्चिएको छ । प्रतिसेयर नेटवर्थ पहिले २०५ रुपैयाँ रहेकोमा अहिले १९८ रुपैयाँ छ । पुस मसान्तसम्म कुल कर्जामा बैंकको निष्क्रिय कर्जा १।४७ प्रतिशत छ । यस्तो कर्जा पहिले ०।५८ प्रतिशत थियो ।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००