काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जाको विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको २५औँ रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रमको दोस्रो सत्रमा आयोजित ऊर्जा विकास मार्गचित्र–२०८१ को बारेमा बोल्दै उनले ऊर्जा विकासमा राष्ट्रिय एकताको खाँचो रहेको बताएका हुन्।
सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। ऊर्जामन्त्री खड्काले जलविद्युत केन्द्र निर्माण गर्दा मोटरबाटो पुग्ने, रोजगारी सिर्जना हुने, शिक्षा, स्वास्थ्यका अवसर खुल्ने भएकाले यसमा अवरोध गर्न नहुने उल्लेख गरे। उनले ऊर्जाले क्षेत्रले मुलुकको अर्थतन्त्र समेत चलायमान बनाउँदै लगेको बताए।
मन्त्री खड्काले जलविद्युत केन्द्रको सेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध सरकारले मिलाउन लागेको बताए। मन्त्री खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। मन्त्री खड्काले ऊर्जा उत्पादनका क्रममा देखिएका नितीगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्ने बताए।
न्यूज समय
५ माघ, २०८१, शनिबार ००:००