काठमाडौं। मुस्ताङका प्रमुख जिल्ला अधिकारीको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् ।
जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
घाइते तिवारीको हात र औँलामा आगोले पोलेको छ । उनलाई उपचारका निम्ति पोखरा पठाइएको र अवस्था खतरामुक्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएको छ ।
तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
न्यूज समय
३ माघ, २०८१, बिहीबार ००:००