माओवादी संसदीय दलको कार्यालयमा सरकार बाहिर रहेका दलहरूको बैठक

न्यूज समय

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माओवादी केन्द्रले सरकार बाहिर रहेका सवै दललाई बैठकमा बोलाएको छ ।

बैठकमा सरकारको संसदको बैठक नबोलाउने तर अध्यादेशबाट शासन गर्ने लगायतका विषयमा छलफल हुनेछ। सरकारले चारवटा अध्यादेश ल्याएपछि विपक्षी दलहरू पहिलोपटक जुट्न लागेका हुन्। अहिलेसम्म विपक्षी दलहरूले आफ्नोआफ्नो पार्टीमा समेत छलफल गरेको बुझिएको छ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशका सन्दर्भमा विपक्षी दलहरू सबै रुष्ट छन्। संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै ओलीको कडा आलोचना भएका बेलामा माओवादी केन्द्रले विपक्षीहरूलाई एक ठाउँमा भेला गर्न लागेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।