काठमाडौ । आज पौष शुक्ल पूर्णिमा । आाजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
यसैबीच हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उनको भनाइ छ ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
न्यूज समय
२९ पुस, २०८१, सोमबार ००:००