काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दाको बयानका लागि लामिछाने आज काठमाडौं जिल्ला अदालत हाजिर भएका छन् । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको इजलासले लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।
सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् । लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने अदालतले जनाएको छ ।
लामिछानेविरुद्ध स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिलले रविलाई सो रकम बिगो मागदाबी राखेका छन् । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।
न्यूज समय
२८ पुस, २०८१, आईतबार ००:००