काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहकै कारण आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताउदै सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका हुन् ।
राष्ट्रपति पौडलले पृथ्वीनारायणले निर्माण गरेको एकिकरणको आधारभूमीमा टेकेर सार्वभौम र स्वतन्त्र देशमा अहिले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेको उल्लेख गरेका छन् । उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पु¥याएको योगदानलाई हामीले बिर्सन नहुने समेत स्पष्ट पारेका छन् ।
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्ने र उहाँका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताए । उनले उहाँका दिव्योपदेशहरू हामीलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको स्पष्ट पारे ।
न्यूज समय
२७ पुस, २०८१, शनिबार ००:००