काठमाडौं । नेपाली कांग्रेसले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारिकीकरण गर्न तथा उद्यमशीलता विकास गर्नका लागि नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सो सम्मेलन हुन लागेको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् द्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक उर्मिला थपलियाका अनुसार आर्थिक रुपान्तरणलाई प्रवद्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवद्धन गर्न तथा युवा उद्यमीलाई प्रोत्साहित गरी उद्यमशीलता विकासमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
विभागले आयोजना गरेको सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रर्दशनी गर्नका लागि नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका र नेपाल घरेलु तथा साना उद्योग महासंघकाबीच सहमति पत्रमा हस्ताक्षर गरेको छ । कांग्रेसकोतर्फबाट विभागकी संयोजक थपलिया र महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका छन् ।
सम्मेलनमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ । स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरु प्रर्दशनीमा राख्ने सहमति भएको छ । सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्तरणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् ।
नेपालको आर्थिक संरचनामा सुधार ल्याउन, नवीनतम दृष्टिकोण र उद्यमशील रणनीतिको अन्वेषण गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नवप्रवद्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टअप र एसएमईको भविस्य, कृषि उद्यमशीलता अवसर र चुनौतीहरु, शिक्षा र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी, महिला उद्यमशीलता समतामूलक आर्थिक विकासको दिशामा, गैरआवासीय नेपाली नेपालमा लगानी र आर्थिक वृद्धिको सम्बन्ध अवसर र चुनौतीहरु लगायतका विषयमा छलफल गर्ने विभागका सदस्य खगेन्द्र आचार्यले जनाएका छन् ।
न्यूज समय
२६ पुस, २०८१, शुक्रबार ००:००