यो अन्तिम विकल्पको सरकार हो : डा शेखर कोइराला

न्यूज समय

धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिने भनेर धेरै विद्वान्‌ले सचेत गराइराखेको अवस्थामा यो सरकार अन्तिम विकल्पको सरकार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए ।

नेता डा. कोइरालाले अहिलेको सरकारलाई असफल हुने छुट नभएको भन्दै कुनै पनि हालतमा अहिलेको सरकार अगाडि बढेर आफ्नो म्यान्डेड पूरा गर्नुपर्ने स्पष्ट पारे । नेता डा. कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।