सांसद बजगाईले पाण्डेलाई लाएको आरोपप्रति हिमालयन टाइगर इनभेष्टमेन्ट ग्रुपको आपत्ती
- २९ कार्तिक, २०८१, बिहीबार ११:४९
- मुख्य समाचार
- न्यूज समय
काठमाडौं । भैरहवाको हिमालयन टाइगर प्यालेसमा संचालित रोयल टाइगर रिक्रियशन सेन्टरलाई क्यासिनो संचालन अनुमति दिदा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोवापत करोडौं घुस लिएको भन्ने समाचार प्रति क्यासिनो संचालक संस्था हिमालयन टाइगर इनभेष्टमेन्ट ग्रुपले ध्यानाकर्षण भएको जनाएको छ ।
हिमालयन टाइगर इनभेष्टमेन्ट ग्रुपका अध्यक्ष बुद्धिसागर सुवेदीले एक विज्ञप्ती प्रकाशित गर्दै आर्थिक मन्दीको चपेटामा परेको देशमा ठूला व्यावसाय संचालनलाई सुचारु गर्न प्रोत्साहन गर्नुको साटो छोटो समयमा भैरहवाको अन्तराष्ट्रिय विमानस्थल संचालन लगायतका सकारात्मक काम गरिरहेका मन्त्री बद्री पाण्डेलाई आक्षेप लगाउनुले उद्योगी व्यावसायी तथा सकारात्मक काम गर्नेलाई निरुत्साहित पार्ने बताएका छन् ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सामाजिक संजालमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले एउटा क्यासिनोलाई अनुमति दिएको र सोवापत करोडौं घुस लिएको भन्ने टिप्पणीका आधारमा समाचार प्रकाशन प्रसारण भएको थियो ।
अध्यक्ष सुवेदीले विज्ञप्तीमा सांसद बजगाईलाई लक्षित गर्दै टाइगर प्यालेस रिसोर्ट संचालनमा अवरोध गर्न विगतदेखि नै एउटा गिरोह लागिरहेको उल्लेख गर्दै सोही समूहबाट प्रवाहित गलत सूचनाका आधारमा प्रकाशित/प्रसारित समाचारमा कुनै सत्यता नभएको उल्लेख गरेका छन् ।
उनले सरकारले तय गरेको मापदण्ड पूरा गरी सरकारले तोकेको राजश्व तिरेर संचालनको अनुमति लिएको जनाएका छन् । त्यस्तै अध्यक्ष सुवेदीले राज्यले विदेशी लगानीको अपेक्षा गरिरहेको अवस्थामा गैरआवासिय नेपालीहरूले दुख गरि आर्जन गरेको रकम मिलिजुली लगानी गरेर संचालन गरिरहेको व्यावसाय बन्द गराउन सक्रिय गिरोहको भ्रमपूर्ण सूचना प्रकाशन प्रसारण नगर्ने पनि आग्रह गरेका छन् ।
नेपालको प्रचलित कानुनअनुसार करिब ५५ करोडभन्दा बढी सरकारी राजस्व तिरेर टाइगर प्यालेस रिसोर्ट र क्यासिनो पूर्ण सञ्चालनमा ल्याइएको उनको भनाइ छ। जसले राष्ट्रिय र स्थानीय तहमा पर्यटन प्रवर्द्धन गर्नुका साथै करिब ५ सयको हाराहारीमा नयाँ रोजगारी समेत सिर्जना गरेको छ।
‘टाइगर प्यालेस रिसोर्ट र क्यासिनो सुचारु भइरहँदा नेपाल सरकारका पर्यटन मन्त्रीलाई समेत जोडेर विभिन्न भ्रामक समाचारहरु सार्वजनिक भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ग्रुपका अध्यक्ष सुबेदीले भनेका छन्।