डेंगु संक्रमित बढे, उपत्यकामा मात्रै झण्डै पाँचहजार संक्रमित
- १४ जेष्ठ, २०८१, सोमबार ०७:२९
- मुख्य समाचार
- न्यूज समय
तिव्र गर्मी बढे संगै काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमितको संख्या पनि तिब्र हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस आर्थिक बर्षको अहिले सम्म काठमाडौं उपत्यकामा मात्रै झण्डै पाँच हजार डेंगु सङ्क्रमित फेला परेका छन् ।
त्यसो त मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा डेंगु संक्रमितको संख्या यो आर्थिक बर्षको अहिले सम्म ११ हजार नाघिसकेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०७ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको छ ।
त्यस्तै काठमाडौँमा तीन हजार‚ चितवनमा एकहजार ७३७‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८८८‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु भेटिएका छन् ।
त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालका अनुसार चालु आवको साउनदेखि जेठ दोस्रो सातासम्म डेंगु सङ्क्रमणका कारण बाग्मती प्रदेशमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ ।
बढ्दो डेंगु सङ्क्रमणबाट बच्न मन्त्रालयले सवैलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगबाट जोगिन सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन मन्त्रालयले सल्लाह दिएको छ ।
यदि डेंगुका कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।