विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन : राष्ट्रपति पौडेल
- २५ माघ, २०८०, बिहीबार ११:५६
- मुख्य समाचार
- न्यूज समय
राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् ।
मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिनेछ बताए।
राजनीतिलाई समाजसेवाको यही बाटोमा केन्द्रित गराउनु आजको आवश्यकता रहेको बताउँदै राष्ट्रिपति पौडेलले हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अबका दिनहरुमा जनता र समाजको सेवा नै हाम्रो मूख्य लक्ष्य हुनुपर्नेमा जोड दिए ।
समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान गर्दा भावी पुस्तालाई असल काम गर्न उत्प्रेरित गर्ने र असल कामका लागि मानिसहरुलाई उत्प्रेरित गर्ने यस्ता कामहरुलाई यस संस्थाले निरन्तरता दिनेछ भन्ने पनि आफुले विश्वास लिएको पनि पौडेलको भनाई थियो ।
प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै उनले स्वर्गीय मीनकुमारी लगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरे ।
प्रतिष्ठानले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्र, शिक्षा, स्वास्थ्य तथा खेलकुद लगायतका क्षेत्रमा आफूलाई क्रियाशील गराउँदै आएकोमा खुशी समेत व्यक्त गरे ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गरे ।