प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेको हुँदा अब अर्को क्रान्तिको आवश्यकता नरहेको बताएका छन् ।
संविधान दिवस २०८० को अवसरमा सभामुखले शुभकामना सन्देश दिँदै संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
‘संविधानले राज्यका अङ्गको निर्धारण, अधिकारको विभाजन र सन्तुलनको बलियो प्रबन्ध गरेको हुँदा पुनःक्रान्तिको आवश्यकता अन्त्य भएको छ,’ सभामुख घिमिरेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ ।’
उनले संविधान दिवसमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू, घाइते, अपाङ्ग तथा शान्तिपूर्ण आन्दोलन गर्ने अगुवाहरुको योगदानलाई स्मरणसमेत गरेका छन् ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने नेपाली जनताको करिब ७ दशकदेखिको चाहना पूरा भएको स्मरण गर्दै सभामुखले नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता विषय संस्थागत भएको उल्लेख गरेका छन् । संविधानले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य सुनिश्चित गरेको उनको भनाइ छ ।

न्यूज समय
३ आश्विन, २०८०, बुधबार ००:००