हिन्दु नारीहरुको हरितालिका पर्वमा राष्ट्रिपति रामचन्द्र पौडेलले एक सनातन सांस्कृतिक पर्वको रूपमा महिलाले मनाउने यस पर्वमा शुभकामना सन्देश दिँदै यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् ।
राष्ट्रपतिले नेपाली हिन्दु महिलाहरूको महान् पर्व तीजको सुखद् अवसरमा सबै नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन् ।
तीजले नेपाली हिन्दु महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने राष्ट्रपति पौडेलले शुभेच्छा पनि व्यक्त गरेका छन् ।
समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको विश्वास गर्दै उनले परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा तीज मनाउँदै आइरहेको आफूले महसुस गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेकामा उनले जोड दिएका छन् ।
साथै उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएका छन् ।
न्यूज समय
१ आश्विन, २०८०, सोमबार ००:००