प्रधानमन्त्रीका कारण जातीय द्वन्द्व निम्त्याएको शेखर कोइरालाको आरोप
कांग्रेस नेता शेखर कोइरालाले पछिल्लो समय धरानमा देखिएको धार्मिक सद्भाव खलबलिएकोमा चिन्ता व्यक्त गर्दै समयमा ध्यान दिन सरकार नेतृत्वलाई आग्रह गरेका छन् । यो अवस्था देखिनुमा प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको भन्दै नेता कोइरालाले उनकै कारण यस्तो अवस्था आएको आरोपसमेत लगाएका छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै कोइरालाले धार्मिक सद्भाव लड्खडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाए ।
‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ,’ नेपाली कांग्रेसका बौद्धिक नेताका रुपमा परिचित डा कोइराला भन्छन्, ‘नेपालमा पछिल्ला परिस्थिति धार्मिक खासियत लडखडाएको छ।’
सुनसरीको धरान क्षेत्रमा केही दिन यता भएका घटनाले मुलुकमा असर गर्ने भन्दै मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न नसकिने उनले बताए । संविधानमा लेखिएका कुरा बाहिरको कदापि स्वीकार्य हुँदैन। कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य पनि कही कतैबाट हुनु हुँदैन।
डा कोइरालाले मुलुकको राजनीति कता मोडिएको भन्दा पनि अप्ठ्यारो परिस्थितितर्फ जाँदै गरेकामा चिन्तित भएको बताए। ‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिए,’ नेता कोइरालाको भनाइ थियो। ‘त्यो कत्तिको उचित हो ? जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आएकाले नै देश अप्ठ्यारो स्थितिमा पुगेको हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै मुलुक अहिले अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएकोमा उनले अरु चिन्ता व्यक्त गरे । नेपालमा अहिले देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ। सुनकाण्डमा भारत र चीन देखिएका छन्। तर अरू मुलुकले समेत चलखेल गर्दै आएकोतर्फ पनि उनले शंका गरे ।
सुन तस्करी काण्डमा सरकारले उच्चस्तरीय छानबिन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरी गर्नुपर्छ ताकि झारा टारी हुनु हुन्न ।