प्रदेश सभामा अध्यक्षता गर्दै गर्दाको भोट प्रयोग गर्नु भन्ने गठबन्धनका शीर्ष नेताहरूको अडान लोकतान्त्रिक पद्धतिभन्दा बाहिरको कुरा हो
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बलजफ्ती बहुमत पुर्याएर विश्वासको मत लिएका छन् । सभाध्यक्षको भोट लिएर यसपटक पनि थापाले बहुमत देखाए ।
यसअघि पनि सभामुखको हस्ताक्षर अंकित बहुमत दाबीबाट थापा मुख्यमन्त्रीको पद लिएका थिए तर सर्वोच्चले असंवैधानिक भनेपछि सत्ताबाट हट्नु परेको थियो । अदालतको आदेशपछि सभामुखलाई राजीनामा गराएर उनी पुनः मुख्यमन्त्री बनेका छन् ।
विश्वासको मत ३० दिनभित्र लिनुपर्ने प्रावधानअनुसार उनले पुनः सभाध्यक्षको मत प्रयोग गरे । यसमा विपक्षीमात्र होइन, उनकै पार्टीका वरिष्ठ नेताले समेत चित्त बुझाएन र मिडियामा आए । अहिले पार्टीभित्र नै उनको आलोचना हुन थालेको छ ।
कांग्रेस नेता एवं सांसद शेखर कोइरालाले थापाले विश्वासको मत लिन सभाध्यक्षको भोट प्रयोग गर्नु असंवैधानिक भएको प्रतिक्रिया दिएका छन् । गृहनगर विराटनगर आइपुगेका कोइलाराले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्रीबाट फेरि पनि असंवैधानिक क्रियाकलाप भएको जिकिर गरे ।
सभामुखको भूमिकामा रहेका सदस्यले मत लिएर म प्रति संसदको विश्वास छ भन्नु संविधानविपरीत भएको उनले ठहर छ । गठबन्धनबाट भएको यस कामको व्याख्या पुनः सर्वोच्च अदालतले नै गर्नुपर्नेसमेत उनको भनाइ छ ।
सम्मानित अदालतको निर्णय सबैले स्वीकार्नुपर्ने बताउँदै नेता कोइरालाले यसमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई समेत दोष दिएका छन् । शीर्ष नेताबाट यस्तो निर्णय गराएर बद्नाम तरिकाले विश्वसको मत लिनु भन्नु अत्यन्तै लोकतान्त्रिक पद्धतिभन्दा बाहिर गएको छ ।
यति भइसकेपछि सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्ने सबैको कर्तव्य हुने कोइरालाको भनाइ छ । सत्ता गठबन्धन पटकपटक संविधान मिच्ने र प्रमुख प्रतिपक्षी अदालतमा गएर न्याय खोजिरहनु पर्ने राम्रो काम होइन । जब राज्यसत्ता कमजोर हुन्छ त्यो बेला अदालत सक्रिय हुन्छ र त्यसलाई जुडिसीयल एक्टिभिजम भन्नु गलत भएको उनको भनाइ थियो ।
न्यूज समय
६ भाद्र, २०८०, बुधबार ००:००