राष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षबीच वार्ता : संसद गतिरोध अन्त्यको खोजी
लामो सयमदेखि संसद चल्न नसकिरहेको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग शुक्रबार भेट गरी छलफल गर्नुभएको छ ।
राष्ट्रपतिसँग आज बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति निवास शीतल निवास पुगेर भेट गर्नुभएको हो ।
शीतल निवासमा उहाँहरुबीच करिब आधा घण्टा वार्ता भएको थियो । वार्तामा संसदको जारी अवरोधबारे छलफल भएको छ । उच्चस्तरीय भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे सभामुख र अध्यक्षसित जानकारी लिनुभएको थियो ।
त्यस क्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।
विमानस्थलबाहिरबाट क्वीन्टल सुन बरामद प्रकरणमा संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । सरकार भने सरकारी निकायले नै छानबिन गरिरहेको हँदा तत्काल अर्को समिति बनाउने पक्षमा देखिएको छैन ।
यही विषयमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर संवाद भए पनि कुरा नमिल्दा संसदको अवरोध हट्न सकेको छैन ।