सुनिल शर्मा पक्राउ काण्ड : स्याल कराउनु, बाख्रा हराउनु
- २६ श्रावण, २०८०, शुक्रबार ०५:०९
- मुख्य समाचार
- न्यूज समय
गृह र अर्थमन्त्रीको राजीनामा मागेकै बखत डाक्टर समातिनु संयोगमात्र हो कि नियत पनि
नेता अर्जुनरसिंह केसीको गम्भीर प्रश्न…
नेपाली उखानमा ‘स्याल कराउनु, बाख्रा हराउनु’ भनेजस्तै भएको छ यतिबेला नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ पर्नुमा । विमानस्थल बाहिर एक क्वीन्टल सुन बरामद प्रकरणपछि डा. शर्माले गृह र अर्थमन्त्रीसित धेरै प्रश्न गरेका थिए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको कमजोरीका कारण सुन पास हुन सकेको उनको ठम्याइँ थियो । उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग डा. शर्माले संसद भवनमै गरेका थिए । त्यतिमात्र होइन, उनीहरुले पदबाट राजीनामा नदिए संसद भवनमै आमरण अनसन बस्नेसमेत घोषणा गरेका थिए ।
हिजो बिहीबार बिहान ११ बजेतिर एकाएक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद शर्मा नियन्त्रणमा लियो । यसपछि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसमात्र होइन अन्य नेता कार्यकर्ताबीच क्रिया प्रतिक्रिया आउन थाल्यो । यो क्रम चलिरहेको छ ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै अनुसन्धान गर्नुपर्ने चर्को आवाज उठाइहँदा शर्मालाई करिब ३० वर्षअघिको नक्कली सर्टिफिेकट प्रकरणमा पक्राउ गरियो । यसमा कांग्रेसका धेरै नेता कार्यक्रर्तामा चित्त बुझाइ भएको छैन ।
यसबारे शर्मालाई गिरफ्तार गरेलगत्तै कांग्रेस नेता अजय शिवाकोटीले स्टाटसमार्फत असन्तुष्टि जनाइसकेका छन् । केही नेताले अनुसन्धानकारी निकायलाई राज्यसत्ताले नाजायज उपयोग गरेको आरोपसमेत लगाएका छन् ।
यही घटनामा कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पनि आफ्नो सोसल मिडियामा लामो स्टाटस लेखेर संसदमा सशक्त आवाज उठाउँदै गर्दा पक्राउ पर्नु संयोगमात्र हो ? भन्दै प्रश्न तेर्साएका छन् ।
नेता केसीले स्टाटसमा ‘भारतको बीडीबीकेएस कलेजबाट १९९६ मा आईएस्सी उत्तीर्ण प्रमाणपत्रबारे छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्षअघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो । त्यही केस हाल आएर सीआईबी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ, ।’
‘‘संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोगमात्र हो ? नेता केसीले प्रश्नमाथि प्रश्न तेर्साउँदै नेतृत्वसँग असहमति जनाएका छन् ।