कांग्रेस सांसद डा. सुनिल शर्मा प्रहरी नियन्त्रणमा
सत्तासिन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । मोरङबाट निर्वाचित डा. शर्मा विराटनगरमा बसेर अस्पताल सञ्चालनसँगै कांग्रेस राजनीतिमा पनि सक्रिय थिए । प्रहरीले सांसद शर्मालाई आज दिउँसो गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
सांसद शर्माको पक्राउबारे प्रहरीले भने अहिलेसम्म केही बताउको छैन । यो प्रक्रियामा असन्तुष्ट नेता शिवाकोटीले बहालवाला सांसदलाई पक्राउ गरेर के गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । नेता शिवाकोटीले संसद चलिरहेको बेला पक्राउ गर्न सभामुखसँग अनुमति लिए नलिएकोबारे पनि प्रश्न गरेका छन् ।
उनले क्वीन्टर सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए । यही कारण उनलाई सीआईबी लगाएर नियन्त्रणमा लिएको कांग्रेस नेताहरुले शंका व्यक्त गरेका छन् ।
गृह मन्त्रालय स्रोतले भने सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको बताएको छ । कांग्रेस नेताहरूले भने गृह र अर्थमन्त्रीको आलोचना गरेकै कारण प्रतिशोधनका रुपमा सांसद शर्मालाई प्रहरील लगाएर पक्राउ गरिएको आरोप छ ।