माओवादी केन्द्रमा कुन नेताको कुन विभाग जिम्मा
नेकपा माओवादी केन्द्र चार दिनअघि सुरु केन्द्रीय कमिटी बैठक आज सक्किँदै छ । बैठकमा अधिकांश नेताले आफ्नो धारणा राखिसकेका छन् । केही बाँकीलाई लिखित रुपमा पेस गर्न अध्यक्ष पुष्पकमल दाहालले आग्रह गरिसकेका छन् ।
प्रज्ञा भवनमा चलिरहेको बैठकका लागि हल बुकिङ आजसम्म भएकाले बैठक आजै सक्नुपर्ने अध्यक्षले रुलिङ गरेका थिए । त्यही कारण पनि केन्द्रीय कमिटीले गर्नु पर्ने निर्णय र कार्यहरु आज सक्दैछ ।
जस अनुसार केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । अध्यक्ष दाहालले नेताहरूको नयाँ जिम्मेवारीबारे बैठकमा प्रस्ताव गरेका छन् ।
अध्यक्षले प्रस्तावित जिम्मेवारीअनुसार पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार विभागको जिम्मेवारीमा प्रस्ताव गरिएको छ । त्यस्तै पार्टी उपमहासचिव वर्षमान पुनलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
केन्द्रीय कमिटी बैठकअघि पार्टी पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर प्रस्ताव पास गरेअनुसार अध्यक्षले केन्द्रीय समितिमा पेस गरेको प्रस्तावित नामावलीमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइने छ भने उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्ज प्रस्ताव गरिएको छ ।
यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाउने भएका छन् ।
पार्टी पदाधिकारीमा एकमा महिला पम्फा भुसाललाई पार्टी जनवर्गीय संगठनको इन्चार्ज बनाइने भएको छ ।