सुन तस्करी छानबिनमा प्रहरीलाई बाइपास गरिएकोमा डा शेखरको असन्तुष्टि
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिएकोमा असन्तुष्टि जनाएका छन् । नेपाल प्रेस युनियन काठमाडौंको पदस्थापन कार्यक्रममा डा कोइरालाले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धान विभागमात्र संलग्न गराएर प्रहरीलाई बाइपास गरिदा आशंका जन्माएको बताए ।
कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालका नीजि सचिव रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएका बताए ।
उनले भने–‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’
कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको र पछिल्लोपटक पनि यस्तै भएको भन्दै यसबारेमा पत्रकारहरूले लेख्नुपर्ने बताए ।