कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै
कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ लिँदै छन् । उनी २६ दिनमा दोस्रो पटक प्रदेश मुख्यमन्त्री बनेका हुन् ।
असार २१ मा मुख्यमन्त्रीमा नियुक्त थापालाई सर्वोच्च अदालतले प्रक्रिया असंवैधानिक ठहर गर्दै खारेज गरेको थियो । त्यसपछि अर्को प्रक्रियामा प्रदेश सभामुखले राजीनामा गरेर ४७ सदस्यको समर्थनसाथ उनी हिजो दोस्रोपटक पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
थापालाई मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम बिहान साढे १० बजेका लागि राखिएको छ । प्रदेश प्रमुखको कार्यालयले यसबारे सबै तयारी पूरा गरेको जनाएको छ । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि मुख्यमन्त्रीले तयारी गरेका छन् ।
सम्भवतः आज ४ सदस्यीय मन्त्रिपरिषद् गठन हुने छ । जसमा मुख्यमन्त्रीसहित कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ र एकीकृत समाजवादीबाट १ जना रहने छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठको अध्यक्षता गर्नुपर्ने हुन्छ ।
गठबन्धनबाटै बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारलाई विश्वासको मत पाउन कठिन हुनेछ ।