उपसभामुख, मन्त्री र संसदीय समितिको सभापति पाउनेभएपछि नागरिक उन्मुक्ति पार्टी सुदुरको सरकारमा

न्यूज समय


रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी उपसभामुखसहित दुई मन्त्री दुई संसदीय समितिको सभापति पाउनेभएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

बैठकमा सहभागी संरक्षक नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने बताए । उनले बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने जानकारी दिए ।

यसअघि सोमबार पनि प्रधानमन्त्री दाहालले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए । यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।