डा गोविन्द केसीद्धारा साउन २९ देखि सत्याग्रहको घोषणा
- १५ श्रावण, २०८०, सोमबार ०९:४९
- मुख्य समाचार
- न्यूज समय
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्। पत्रकार सम्मेलन गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन्। केसीले आयोगका सह–अध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पदीय जिम्मेवारीबाहिर गएर माफियाहरुको प्रयासमा साथ दिइरहेको आशंका उत्पन्न भएको बताए।
स्वास्थ्य र शिक्षाका विभिन्न विषयहरुमा सिटीइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरुलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशंक जन्माएको उनले बताए।
उनले शुल्क बढाउनेसम्बन्धी सिटीइभीटीको निर्णय खारेज गर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पु¥याउने तथा सञ्चालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानून बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरुमा विद्यमान शैया अनुरुप स्थायी दरबन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुवाट निःशुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानूनी प्रावधान कडाइका साथ लागू गर्नेलगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गरेका छन्। यी सबै मागहरु पूरा नभएमा यही साउन २९ गतेदेखि सत्याग्रह शुरु गर्ने उनले जानकारी गराए।