आज पनि संसद बैठक बस्न सकेन
सुन प्रकरणमा संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले अडानका कारण आज पनि प्रतिनिधिसभा बैठक बस्न सकेन । एमाले आफ्नो अडानबाट पछि नहटेपछि भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
संसद बैठक सञ्चालन गराउने सम्बन्धमा आजै बिहान प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्तासुमेत भएको थियो । तर वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान कायम राखेपछि कुनै निर्णय हुन सकेन । सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने एमालेको अडान छ ।
विमानस्थलका सबै प्रक्रिया पूरा गरेर आएको सामान बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आएको छ ।
सदन खुलाउन सभामुखले कार्यव्यवस्था समितिको बैठकपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भउको छलफलमा उपसभामुख इन्दिरा राना मगरसमेत सहभागी छन् ।