चन्द्रागिरिमा संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान
- ६ श्रावण, २०८०, शनिबार १२:०५
- मुख्य समाचार
- न्यूज समय
संघीय संसद् र प्रदेश सभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार पनि जारी छ ।
हिजो शुक्रबार सुरु कार्यक्रममा शनिबार भने सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आ–आफ्ना अनुभवसहित धारणा राख्नेछन् ।
दोस्रो दिनको कार्यशाला सुरु गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘आशा छ संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग पुग्ने छ,’ उहाँले भन्नुभयो ।
सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिनुभयो । उहाँले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।
२०७५ भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम भइसकेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरु संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुखसमेतको उपस्थितिमा भेलाका निष्कर्षहरु सुनाउने कार्यक्रम छ ।