कांग्रेस सांसदले नै मागे अर्थ र गृहमन्त्रीको राजीनामा

न्यूज समय

प्रतिनितिसभाको कानून, न्याय र मानवअधिकार समितिको बैठकमा अर्थ र गृहमन्त्रीको राजीनामा मागिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा नेपाली कांग्रेका सांसद सुनिल शर्माले अर्थमन्त्रालय मातहतको भन्सार र गृहअन्तर्गतको प्रहरी विमानस्थलमा चुकेकोले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भई सिनामंगलमा बरामद एक क्वीन्टलभन्दा बढी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

यति ठूलो काण्डमा राज्यको संयन्त्र निकम्मा भएको हुँदा यसमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै उनले अनुसन्धानमा सहयोग गर्न दुई मन्त्रीहरूले बाटो खुल्ला गर्नुपर्ने उनको तर्क थियो ।

तर प्रधानमन्त्री मातहतका निकायले सुन बरामदसहित तस्करीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन सक्षम भएकोमा धन्यवाद दिँदै सांसद शर्माले प्रधानमन्त्रीको कदमलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

सोही बैठकमा कांग्रेसकै सांसद रामहरि खतिवडाले सुन तस्करीमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए । नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानबिन गर्न उनले जोडदार माग गरे ।