कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा हुँदै
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ । साउन २ गते मंगलबार दिउँसो १ बजेबाट बैठक सुरु हुने कार्यतालिका छ ।
लामो अन्तरालपछि हुन लागेको केन्द्रीय समिति बैठकप्रति धेरैको ध्यानाकर्षण भएको छ । झन्डै एक वर्षअघि मात्र केन्द्रीय समिति बसेको थियो ।
केन्द्रीय समिति बैठकको तयारी तथा एजेन्डा निर्धारणका लागि हिजो सोमबार पदाधिकारी र पूर्वपदाधिकारीहरु सम्मिलित बैठक बसेको थियो । सोही बैठकको छलफलले १० बुँदे एजेन्डा निर्धारण गरेको छ ।
सोमबार पहिलो चरणमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी तथा दोस्रो चरणमा वर्तमान पदाधिकारीमात्रको सहभागिता भएको छलफलले समसामयिक विषयसहित सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघिको बैठकका निर्णयका कार्यसम्पादन र अनुमोदन, नीति अधिवेशनसम्बन्धी प्रस्ताव, विभाग गठनसम्बन्धी प्रस्ताव, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको जानकारी, सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउनेलगायत विषयमा छलफल हुनेछ ।