११७ नेपाली श्रमिक कुबेत उड्न पाएनन्

न्यूज समय

अध्यागमनका कर्मचारीहरुको सन्कीका कारण दुःख पाएको श्रमिकको आरोप

वैदेशिक रोजगारीका लागि उड्न ठिक्क परेका ठूलो संख्याका नेपाली श्रमिक एकाएक फर्कनु परेको छ । हिजो रातिको सलाम एयर र आज बिहानको कुबेत एयरबाट उड्न लागेका ११७ श्रमिकलाई अध्यागनले रोकेको हो ।

रोजगारीका लागि हिजो राति ११ बजेतिर १०१ जना र आज बिहान १६ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय फर्काएको थियो । कुबेतका लागि जान लागेका ती श्रमिकको कागजातमाथि शंका लागेर फर्काएको अध्यागमनका कर्मचारीको भनाइ छ ।

आफूहरुले सबै प्रक्रिया पूरा गरेर उडाउन विमानस्थल ल्याए पनि सन्की कर्मचारीले दुःख दिने नियतवश जानबाट रोकेको रोजगार व्यवसायीको आरोप छ । एक व्यवसायीले भने, ‘अध्यागमनले रोक्नु पर्ने कुनै कारण नै छैन । हामीले सबै प्रक्रिया पूरा गरेका छौं ।’

तर अध्यागमन स्रोतले भने श्रमिकहरुको पेश गरिएका कागजातमाथि थप बुझ्नुपर्ने भएकोले उनीहरुलाई उड्न नदिइएको हो । अध्यागमनलाई कामदारको कागजात नक्कली पेश आएको भरमा रोकिएको भनाइ छ ।