सुदूरपश्चिम सरकार र सत्ता गठबन्धनबीच मिल्ती

न्यूज समय

सरकारले यो वर्षको बजेट करेक्सन गर्ने भएपछि सुदूरपश्चिम प्रदेशमा चित्त दुःखाएका गठबन्धनका सदस्यहरुको सरकारसँग मिल्ती हुने भएको छ ।

सरकारले बजेट परिमार्जन नगर्ने भए फेल गराएर छाड्ने सत्ता गठबन्धनकै सांसदले भन्न थालेपछि सरकार करेक्सन गर्न बाध्य भएको हो । यससम्बन्धमा मंगलबार मन्त्रिपरिषद् कार्यालयमा गठबन्धनका सांसद र सरकारबीच छलफलपछि यस्तो निर्णय भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विभागीय मन्त्रालयबाट आएको योजनाबारे आफू पूर्णजानकारी नभएका कारण समस्या देखिएको प्रतिक्रिया दिए । उनले आफ्नो कमजोरीसम्बन्धमा सत्ता गठबन्धनका नेता, प्रमुख सचेतक तथा सांसदबीच करेक्सन गराउने प्रतिबद्धता जनाएका छन् ।

सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले यथास्थितमा बजेट पारित गर्न नसकिने बताएका थिए । त्यस लगत्तै मुख्यमन्त्री शाहले तीनै दलका नेतालाई वार्तामा बोलाएका हुन् ।

मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् सदस्य उपस्थित वार्तामा सरकारले बजेट असन्तुलित रहेको स्वीकार गर्दै परिवर्तन गर्नका लागि केही समय माग गरेको छ । सो सहमतिअनुसार नेताहरुले मुख्यमन्त्रीलाई समय दिएपछि समस्या समाधानतर्फ अघि बढेको छ ।