कोशी प्रदेशमा थपिए ३ मन्त्री
आर्थिक मामिला तथा योजनामा माओवादीका जीवन शर्मा
कोशी प्रदेशमा बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाले थप ३ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । जसमा माओवादी केन्द्रबाट २ र कांग्रेसबाट १ जनालाई आइतबार बिहान मन्त्री नियुक्त गरिएको हो ।
नवगठित मन्त्रीहरुको सपथ पनि भएको छ । मन्त्री नियुक्त हुनेहरूमा माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की रहेका छन् । जीवन आचार्य माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुन् उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री नियुक्त हुनेमा उदयपुरबाट प्रदेश सांसद भएका रामकुमार खत्री छन् । खत्री र कार्कीलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
शुक्रबार नै माओवादीबाट जीवनलाई मन्त्री नियुक्त गर्ने भनिए पनि आन्तरिक विवादका कारण सम्भव भएको थिएन ।
यसअघि मुख्यमन्त्री थापाले कमलप्रसाद जवेगु र प्रदीप सुनुवारलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुलाई पनि विभागीय जिम्मेवारी भने दिइएको छैन ।
मन्त्रीमण्डल गठनमा मुख्यमन्त्री थापाले यसअघि गठबन्धन दलबीच भएको सहमतिलाई तोडेको भन्दै एकीकृत समाजवादीले विरोध जनाएको छ । सो दलका नेता राजेन्द्र राईले गठबन्धन दलहरूबीच एकाएक जनामात्रै मन्त्री बनाउने सहमतिलाई मुख्यमन्त्रीले तोडेर थप मन्त्री नियुक्त गर्नु हामीलाई सह्य छैन भनेका छन् ।