नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालतको शरणमा पुगेका छन् । कार्कीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्दै अदालतमा शुक्रबार रिट दायर गरेका हुन् ।
कोशी प्रदेश प्रमुख पशुराम खापुङले हिजो मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गरेको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न मागसहित सर्वोच्चमा रिट दायर गरिएको हो ।
कार्कीका तर्फबाट अधिवक्ता पवनकुमार निरौलाले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभामुख र मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमा मुख्यमन्त्रीमा थापालाई मान्यता नदिन अन्तरिम आदेशसमेत माग गरिएको छ ।
शुक्रबार दिउँसो दायर रिटमा अन्तिम टुङ्गो नलागेसम्म्म प्रदेश प्रमुखको निर्णय यथास्थितिमा राख्नु र हिजो नियुक्त मुख्यमन्त्रीलाई कुनै पनि काम कारबाही गर्न नदिनु नदिलाउनु भनी अन्तरिम आदेश माग गरिएको
छ । दायर रिटमा एमालेले थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभामा बहुमत नपुग्ने दाबी गरिएको छ ।
मुख्यमन्त्रीका लागि दाबी गरिएको पत्रमा प्रदेश सभाका सभामुखको हस्ताक्षर समावेश गरिनु असंवैधानिक भएको रिटमा उल्लेख छ । ‘संविधानको धारा १६८ (२) मा दलहरुको समर्थनमा बहुमत प्राप्त भन्ने पदावली रहेको छ, यो राजनीतिक दल र दलको समर्थनमा मात्र मुख्यमन्त्री नियुक्त हुने संवैधानिक व्यवस्थामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष भूमिकामा रहेका सभामुख पर्नुहुन्न’, सर्वोच्चमा दायर रिटमा उल्लेख छ ।
न्यूज समय
२२ असार, २०८०, शुक्रबार ००:००