कोशी प्रदेशमा उद्धवले दाबी गरे मुख्यमन्त्री

न्यूज समय

कोशी प्रदेशमा मुख्यमन्त्री एमालेका हिक्मत कार्कीले बहुमत पुर्याउन नसकेपछि रित्त पदमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी गरेका छन् । संसद बहुमतका लागि निर्णायक राप्रपा नेपालले गठबन्धनलाई समर्थन नगरेपछि सभामुखसहितको संख्यामा मुख्यमन्त्री दाबी गरिएको हो ।

सभामुख निर्वाचित भएसँगै माओवादी पार्टी त्याग गरेका बाबुराम गौतमसहितको बहुमत संख्या पुर्‍याएर प्रदेश प्रमुख परशुराम खापुङ्गलाई सरकार निर्माणका लागि दाबी गरिएको छ । संविधानले यो व्यवस्था गरेको छ छैन बहसको विषय बनेको छ ।

कोशी प्रदेशमा कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२, समाजवादीको ४ र जसपाको १ गरी गठबन्धनसँग ४६ सांसद छन् ।

उता एमालेको ४० र राप्रपाको ६ गरी ४६ सिट नै छ । यो अवस्थामा यदि सभामुखको गन्ती नभएको खण्डमा वा संविधानले रोकेको अवस्था उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त नहुन सक्ने अवस्था पनि छ ।

यसअघि एमाले र राप्रपाले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको पत्रमा सभामुख गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको छ ।