सत्तारुढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको आज बिहीबार काठमाडौंमा भेला हुँदैछ । ७७ वटै जिल्लाका सभापतिहरुलाई काठमाडौं बोलाइएको छ । भौतिक रुपमा उपस्थित हुन नसक्दा अनलाइनमै पनि जोडिन भनिएको छ । भेला बिहीबार र शुक्रबारसम्म चल्ने छ ।
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने सो भेलामा पार्टीको समसामयिक विषयमा छलफल हुने कार्यालयले जनाएको छ । भेलाको मुख्य एजेन्डा पार्टी सदस्यता वितरण, नवीकरण नै रहने स्रोतको भनाइ छ ।
पार्टी सभापतिहरुलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उल्लेखित विषयहरुमा सम्बोधनसहित सहजीकरण गर्ने कार्यक्रम रहेको भनिए पछि ७७ वटै जिल्ला सभापति काठमाडौं बोलाएर छलफल गर्नुमा राजनीतिक रुपमा फरक हेराई पनि छ । सत्ता गठबन्धन परिवर्तनको हल्ला चलिरहेको अवस्थामा जिल्ला नेतृत्वलाई काठमाडौं बोलाउनुको रहस्य फरक पनि हुन सक्ने विश्लेषकहरु बताउँछन् ।
भेलाका लागि निमन्त्रणा गरिएको पत्राचारमा जिल्ला नेतृत्वलाई पार्टी क्रियाशील सदस्यता र सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरण, विधानबमोजिम गर्नु पर्ने पार्टीका विभिन्न तहका सम्मेलनका र पार्टी संचालन तथा व्यवस्थापनजस्ता विषयसमेतका लागि अनुरोध गरिएको थियो ।
न्यूज समय
२१ असार, २०८०, बिहीबार ००:००