सत्ता गठबन्धन फेरिने गगन थापाको संकेत
- १० असार, २०८०, आईतवार ०२:५६
- मुख्य समाचार
- न्यूज समय
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अहिलेको गठबन्धनले कुनै पनि काम जनभावनाअनुसार गर्न नसकेको उनको भनाइ थियो ।
काठमाडौंमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले गठबन्धन सरकार यही चालले अघि बढ्न नसक्ने चेतावनी दिएका छन् । यो गतिविधिले नेपाली कांग्रेसका मतदातालाई चित्त नबुझेको उनको भनाइ छ ।
‘गठबन्धन ठीक ढंगले चलने र कसैलाई पनि चित्त बुझेको छैन,’ कांग्रेस महामन्त्री थापाको भनाइ थियो, ‘जनताको पक्षमा काम गर्न सक्दैन भने गठबन्धन बचाइराख्नुपर्छ भन्ने छैन यो फेर्न सकिन्छ ।’ सत्ताकै लागि कांग्रेस मरिहत्ते पनि गर्दैन, सरकार यही चालले अघि बढ्छ भने आफूहरु पूरै पाँच वर्ष सत्ता बाहिर बस्न सक्ने उनको भनाइ थियो ।
विगतलाई कोट्याउँदै उनले भने नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनाव अघि नै गठबन्धन गर्नु गलत थियो । सरकारको माया नगरी कांग्रेसले नडराइकन एक्लाएक्लै चुनाव लड्न सक्नुपर्थ्यो ।
महामन्त्री थापाको लामो भाषणमा सत्ता गठबन्धनबाट धेरै असन्तुष्टिका शब्द निस्किएका थिए । गठबन्धन फेरिनु र नयाँ बन्नु कुनै नौलो कुरा नभएको उनको भनाइ थियो । तर अब बन्ने गठबन्धन सरकार क–कस्को बन्ने र सरकारको नेतृत्व कसले गर्नेबारे केही भनेनन् ।
तर अबको गठबन्धन नेपाली कांग्रेस र एमालेबीच बन्ने चर्चा राजनीतिक वृत्तमा उछालिएको छ । त्यो सरकारको नेतृत्व गगन थापाले गर्नेमा एमालेका युवा नेताहरु सहमत हुँदै केही अभिव्यक्तिहरु पनि आउन थालेका छन ।