राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनसक्ने संभावना छ : भारतस्थित नेपाली दुतावास
- १७ बैशाख, २०८०, आईतवार ००:३२
- मुख्य समाचार
- न्यूज समय
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र सबै अवस्था राम्रो छ ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सबै राम्रो आएको समेत बताएको छ । दूतावासले राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनसक्ने सम्भावना रहेको समेत बताएको छ ।
राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपचार भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा आज पनि जारी रह्यो,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्।’
वैशाख ६ गते पौडेललाई उपचारका लागि भारत लगिएको थियो। राष्ट्रपति पौडेलको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ।