पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र स्वेच्छाचारी कदमका कारण संविधान नै संकटमा रहेको बताएका छन् ।
विहिबार काठमाडौमा विभिन्न संचार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले देशमा कोरोना र बाढीपहिरोको संकट जस्ता प्रकृतिक बिपत्तिबाट जनधनको क्षेति भएको भन्दै सरकार सुरक्षाका लागि कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार भएर बसेको आरोप लगाए ।
देउवाले संविधान सभाले निर्माण गरेको संविधनको बेवास्ता गर्दै ओली सरकारबाट लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको समेत आरोप लगाए ।
राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भएको उनको तर्क थियो ।
राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यले पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चा बनाएर ओलीका कदम बिरुद्ध आफुहरु आन्दोलनमा रहेको दउबाले बताए ।
अदालतको निर्णयले सरकारबाट भएका कतिपय संविधान र कानून विपरीतका अलोकतान्त्रिक कार्यहरु रोकिएको भन्दै संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई साझा गन्तव्यका रुपमा अगाडी बढन चाहेको सभापति देउवाको तर्क थियो ।
न्यूज समय
१० असार, २०७८, बिहीबार ००:००