६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

संसद् विघटनविरुद्ध कांग्रेसले वडा तहसम्म विरोध प्रदर्शन गर्ने

संसद् विघटनको विरोधमा कांग्रेसले सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले प्रादेशिक निर्वाचन क्षेत्र र स्थानीय तहमा छुट्टाछुट्टै विरोध प्रदर्शनको कार्यक्रम तय गरेको छ । 

२५ पुसमा तीन सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा, ३ माघमा सात सय ५३ वटै स्थानीय तहमा र ८ माघमा देशैभरिका ६ हजार सात सय ४३ वटा वडामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी विरोध कार्यक्रमको तयारीमा जुट्न कांग्रेसले निर्देशन गरेको छ । यसअघि १३ पुसमा सबै संसदीय निर्वाचन क्षेत्रस्तरमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । 

प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनविरुद्ध प्रदेश, पालिकास्तर र वडा तहमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य गरेको कांग्रेसको ठहर छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले बोलेका छन् । पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा स्पष्ट धारणा राख्नुपर्नेमै अडान लिएका छन् । ‘मोही माग्ने ढुंग्रो लुकाउने गर्न ठीक हुन्न, पार्टीले स्पष्ट रूपमा संसद् पुनस्र्थापनाको पक्षमा वकालत गरौँ,’ पौडेलले भनेका थिए । तर, नेता सिटौलाले भने प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको ठहर भइसकेपछि पुनस्र्थापनाको विषयमा बोल्न जरुरी नहुने बताए । 

‘सरकारको कदम असंवैधानिक छ, अलोकतान्त्रिक छ, असंवैधानिक भनिसकेपछि त्यसलाई संवैधानिक बनाउनु भनेकै संसद् पुनस्र्थापना हुनु हो, त्यसैले सरकारको कदमको विरोध गरे पुग्छ,’ सिटौलाले भनेका थिए । कोरोना संक्रमणबाट भर्खरै निको भएका नेता सिटौलाले आइतबारको बैठकमा सरकारको प्रतिनिधिसभा विघटनले देशलाई अनिश्चितता र अस्थिरतातर्फ धकेलेको बताए ।

उनले ओली नेतृत्वको सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा कांग्रेसले बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन अग्रसरता लिनुपर्ने धारणा राखे । 

आइतबारको बैठकले पार्टीमा अन्य राजनीतिक दलबाट आएका सदस्यहरूको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन पारित गरेको छ । उपसभापति विमलेन्द्र निधि संयोजकत्वको अन्य राजनीतिक दल समायोजन समितिले तयार गरेको प्रतिवेदन केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेको हो । आइतबारको बैठकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्लामा सीमा मिचिएको विषयमा कांग्रेसको टोलीले गरेको अध्ययन र सरकारको तर्फबाट भएको बेवास्ताका विषयमा जानकारी गराएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*