१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

रुख रोप्दा पंचायत कालमा कांग्रेसका टाउका फुट्थे, ओलीको शासनमा पुल बनाउन करङ भाँचिए : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पञ्चायतमा रुख रोप्दा तत्कालीन सत्ताले टाउको फुटाउने गरेको स्मरण गर्दै अहिले कम्युनिष्ट शासनमा पूल बनाउँदा करङ् भाँचिएको बताएका छन् । सरकारविरुद्ध आज शान्ति वाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । 

तनहुँमा केहीदिन अघि पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिँदा उनको करङमा समस्या भएकोतर्फ लक्षित गर्दै उनले भने, “निर्दलीय पञ्चायती व्यवस्थामा रूख रोप्दा टाउको फुट्थ्यो । कम्युनिष्टको शासनमा पुल बनाउँदा करङ भाँचियो ।”

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले अहिले सरकारका कारण लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशिता संकटमा परेको बताअए । तर, कांग्रेसले आफ्नो नेतृत्वमा प्राप्त उपलब्धिका रुपमा रहेका संघीयता, लोकतन्त्र र समावेशिता संकटमा पर्न नदिने पनि बताए । त्यस्तै, उनले अहिले  देशमा पक्षपात बढेको पनि बताए । गाउँगाउँमा  विशेष अधिकार प्राप्त, कुनै कानुन नलाग्ने नयाँ कम्युनिष्ट वर्ग जन्माउन खोजिएको भन्दै सरकारले राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाए । 

उनले कांग्रेस देशको भविष्य उज्वल बनाउनका लागि लडिरहेको भन्दै अहिलेको व्यवस्था लोकतान्त्रिक भएपनि सरकारमा रहेको नेकपाको पृष्ठभूमि लोकतान्त्रिक नभएको बताए । 

त्यस्तै, सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्राज जोशीले लोकतन्त्र बचाउन कांग्रेस सडकमा आएको बताए । उखु किसानसँग सरकारले गरेको सहमति कार्यान्वयन नगर्दा पुनः किसानहरु आन्दोलनमा आउनु परेकोप्रति पनि उनले आक्रोस पोखे । कोरोना महामारीका बेलामा धेरै देशले भ्याक्सिन किन्न बुकिङ गरेपनि सरकारले बल्ल पत्र लेखेको भन्दै उनले आलोचना गरे । जोशीले अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई बदला लिने ठाउँ बनाइएको पनि बताए । केपी ओली प्रधानमन्त्री बन्दा देशको ऋण ६ खर्ब रहेको र हाल त्यो बढेर ३ वर्षमा १३ खर्ब पुगेको, कोरोना महानमारीमा पनि भ्रष्टाचार गरेको भन्दै उनले सरकारको काम के छ ? भन्दै प्रश्न उठाएका थिए । 

काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रबाट जुलुससहित कांग्रेस कार्यकर्ताहरु सरकारविरुद्ध नारा जुलुस गर्दै शान्तिवाटीका आइपुगेका थिए । विरोधलाई पौडेल, जोशी, काठमाडौं कांग्रेसका सभापति सबुझ बानियाँ, नेविसंघका महामन्त्री मनोज वैद्यलगायतले सम्बोधन गरेका थिए । उनीहरुले सरकार सर्वसत्तावादी बाटोमा अघि बढ्न खोजेको भन्दै कांग्रेसले सरकारको त्यस्तो चाहना पूरा हुन नदिने बताएका थिए । 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*