१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या

दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ। शनिबार जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको अस्पताल स्रोतले बतायो। पोस्टमार्टम रिपोर्ट सार्वजनिक भने गरिएको छैन। स्रोतका अनुसार भेजाइनल स्वाब परीक्षणपछि मात्र थप जानकारी आउनेछ।

बुधबार विद्यालयबाट घर फर्कंदा सम्पर्कविहीन भएकी भागरथीको शव बिहीबार गाउँनजिकैको लवलेक जंगलमा फेला परेको थियो। प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। घटनाको सूक्ष्मरुपमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डेका अनुसार घटना बुधबार साढे दुई–तीन बजेको बीचमा भएको देखिएको छ।  

अनुसन्धानका लागि आएको तालिमप्राप्त कुकुरले शवको नजिकै रहेको मोबाइल फोन भेटे पनि घटनामा संलग्नसम्म पुग्न सकेको छैन। बुधबार राति पानि परेकाले अपराधी पहिचान गर्न कुकुरलाई समस्या भएको बताइएको छ। शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ। राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन्।  

भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदा भतिजीको हत्याका विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए। ‘प्रहरी–प्रशासनको अनुसन्धानको तरिका अहिलेसम्म ठीकै छ तर अपराधी पक्राउ नपरेसम्म कसरी ढुक्क हुने’, उनले भने, ‘पहुँच भएका व्यक्ति घटनामा संलग्न छन् भने कारबाहीबाट उम्किएलान् कि भन्ने शंका लागेको छ।’ त्यही कारण भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको उनले बताए।

कञ्चनपुरकी १३ वर्षीया निर्मलाको २०७५ साउन १० गते हत्या भएको थियो। भोलिपल्ट उनको शव उखुबारीमा भेटिएको थियो। तर अहिलेसम्म अपराधी पक्राउ नपर्नुले भागरथीको घटनामा पनि त्यसैको पुनरावृत्ति हुने त होइन भन्ने चिन्ता स्थानीयको छ।  

भागरथीकी आमा द्रोपती छोरीको शव भेटिएदेखि नै अर्ध बेहोस अवस्थामा छिन्। उनले दुई महिनाअघिमात्रै पति गुमाएकी थिइन्। ‘छोरीलाई यसरी दुःख दिएर हत्या गर्नेलाई छिटो पक्राउ गरेर सकेसम्मको कारबाही भएको हेर्ने मन छ,’ होसमा आएका बेला उनले भनिन्।घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रूपमा परिचालन गरिएको छ।

भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ। प्रहरीले भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ। सोधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ।

‘घटनास्थलमा भेटिएको मोबाइलको कल डिटेल र त्यसमा केन्द्रित प्राविधिक अनुसन्धानको पाटो खुलाउने क्रममा छौं,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘टेक्निकल, म्यानुअल र बाहिरी निगरानीमा अनुसन्धान गर्न टोलीलाई छुट्टाछुट्टै खटाइएको छ।’ भेजाइनल स्वाब निकालेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।

अनुसन्धानमा खटिएका प्रहरीले शवको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि हत्या भएको बताएका छन्। शव अर्धनग्न अवस्थामा फेला परेको थियो। शरीरका कपडा च्यातिएको र भित्री कपडामा रगत लागेको थियो। किशोरीको योनी र मुखबाट धेरै मात्रामा रगत बगेको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। ‘किशोरीले प्रतिकार गरेर पनि असफल भएको देखिन्छ। दुई वा दुईजनाभन्दा बढीको समूहले बलात्कार र हत्या गरेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने। शव भेटिएकै स्थान बनमाराको झाडीमा बलात्कार र हत्या भएको उनले आशंका गरे। घटनास्थल स्थानीय खोचलेक–चडेपानी ग्रामीण सडकबाट एक सय मिटर तल पर्छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटना संवेदनशील र शंकास्पद रहेकाले त्यसकै आधारमा अनुसन्धान अगाडि बढाएको बताए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*