३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

फिफा महिला विश्वकपमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेले


फिफा महिला विश्वकपमा साविक विजेता अमेरिका साविक उपविजेता नेदरल्यान्ड्ससँग बराबरीमा रोकिएको छ। न्युजिल्याण्डको स्काई स्टेडियममा आज बिहान भएको खेलमा चार पटकको विश्व विजेता अमेरिकासँग १–१ को बराबरीमा रोकिएको हो। पहिलो हाफमा अमेरिका नेदरल्याण्ड्ससँग १–० ले पछाडि परेको थियो। नेदरल्याण्ड्सकी जिल रुड्सले १७औँ मिनेटमा गोल गरेकी थिइन्।

दोस्रो हाफको ६२ औँ मिनेटमा अमेरिकी कप्तान लिन्ड्ली होरानले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। कर्नरबाट आएको बललाई होरानले हेडरमार्फत् गोल गरिन्। समूह ई मा रहेका यी दुई टोली अपराजित रहँदै नकआउट चरणमा प्रवेशका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन्। अमेरिका ४ अंकसहित तालिकाको शीर्षमा छ भने नेदरल्याण्ड्स समान अंकसहित दोस्रो स्थानमा छन्।

अमेरिकाले समूह चरणको पहिलो खेलमा भियतनामलाई ३–० गोलले पराजित गरेको थियो। नेदरल्यान्ड्सले भने पोर्चुगलमाथि १–० को जित हात पारेको थियो। यस बाहेक विश्वकपमा आज अरु दुई खेल हुदै छन्। समूह ई मै रहेका पोर्चुगल र भियतनाम पनि आजै खेल्दैछन्। न्युजिल्यान्डको ह्यामिल्टनमा खेल दिउँसो सवा एक बजे सुरु हुनेछ। विश्वकपको सहआयोजक अस्ट्रेलियाले आज समूहको दोस्रो खेलमा अफ्रिकी राष्ट्र नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ।

​ ब्रिस्बेनमा हुने यो खेल नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुनेछ। अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको थियो। नाइजेरियाले पहिलो खेलमा ओलम्पिक च्याम्पियन क्यानडालाई गोलरहित बराबरीमा रोकेको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*