१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नायिका श्वेता खड्काको आज दोश्रो विवाह,किन लेखिन मन छुने स्टाटस ?

नायिका श्वेता खड्काले आज दोस्रोपटक विवाह गर्दैछिन्। उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो। त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिन लागेकी हुन्।

उनको स्टाटस जस्ताको त्यस्तै :

म: जीवनको नविन यात्रामा 🙏🙏

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ । म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् ।

मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।’एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ ।

महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें ।

अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें । “मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन ।

अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ ।

श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏उही तपाईंकी छोरी/चेली श्वेता खड्का

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*